Techie IT
HK Tube Nepal

इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग भोलिबाट


पथरी शनिश्चरे, फागुन १८ । मोरङको पथरीशनिश्चरे नगरमा इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ भोलि बिहिवारबाट सुरु हुँदैछ । यो प्रिमियर लिग दोस्रो संस्करण हो ।

पथरीशनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा हुने प्रिमियर लिगको लागि इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले टाइटल स्पोन्सर गर्नेछ । ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मुख्य नाराको साथ हुने खेलको ९५ प्रतिशत तयारी पुरा भएको पथरीशनिश्चरे प्रिमियर लिग आयोजक समितिका अध्यक्ष संजिव गिरीले बताए ।

पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई (किशोर)को प्रमुख आतिथ्यतामा हुने उद्घाटन कार्यक्रममा अखिल नेपाल फुटबल संघको मोरङ जिल्ला अध्यक्ष दिपेन्द्र धिमाल, केन्द्रीय सहसचिव बसन्त अर्याल, इन्ट्रा फाउण्डेशनको तर्फबाट कलाकार रमित ढुंगाना, पथरी उद्योग वाणिज्य संघको अध्यक्ष धनकुमार तामाङ लगायतको उपस्थितिमा भव्य उद्घघाटन हुने आयोजक समितिको सचिव मनि लुङ्फुङ्वाले जानकारी दिए ।
भोलीको उद्घाटन खेलमा ‘बि एण्ड बि’ वाइजीएफटी र शिखर एफसीले प्रतिस्पर्धा गर्दैछन । यस सीजनमा ग्रुप ‘ए’मा वाइजीएफटी, शिखर, टेन नवोदय, वाइएफसी र ‘बी’ मा देबिगञ्ज, सिरिजंङ्गा, न्युस्टार र द रियल ब्रदर भिड्ने भएको छ । प्रतियोगितामा फाइनलसहित १५ खेलहरू हुनेछ । पहिलो सिजनमा टेन नवोदयले प्रथम ट्रफी उचालेको थियो । यो सिजनमा पथरीशनिश्चरेको ७ र भुटानी शरणार्थी शिविरको एक गरी ८ वटा टिमले लिगमा प्रतिस्पर्धा गर्नेछन ।

उपाधि उठाउने क्लवलाई २ लाख ५१ हजार र दोस्रो हुने टिमलाई १ लाख ५१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रहरु प्रदान गरिने लिग आयोजक समितिको संयोजक संजिव गिरीले बताए । अनुशासित टिमलाई १५ र सर्वोत्कृष्ट खेलाडीलाई १२ हजार पाँच सय प्रदान गरिने आयोजक समितिको सचिव मनि लिम्बूले बताए । लिगमा करिब २८ लाख ९२ हजार खर्चको अनुमान गरिएको समितिको कोषाध्यक्ष श्रीहाङ राईले बताए । यस संस्करणको लिग फागुन १९ मा सुरु भएर चैत्र ५ समापन हुनेछ ।



तपाईको कमेन्ट लेख्नुहोस्