Techie IT
HK Tube Nepal

किराँत प्रदेश नामकरणको माग गर्दै मोटरसाइकल र्‍यालीपछि प्रदेश सभा घेराउ


मोरङ, फागुन २७ । प्रदेश नं. १ को नाम किराँत राख्न माग गर्दै बिहिबार मोटरसाइकल र्‍यालीपछि १ नं. प्रदेश सभा कार्यालय घेराउ भएको छ ।
किरात राई यायोक्खा सुनसरीको आयोजनामा धरानबाट सुरु भएको मोटरसाइकल र्‍याली इटहरी, विराटनगरको मुख्यमन्त्रीको कार्यालय, अन्तरिक मामिला मन्त्रालय हुँदै प्रदेश सभा कार्यालयमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभा अघि प्रदेश सरकारको प्रदेश नामाकरण संयोजन समितिको संयोजक समेत रहेका स्वास्थ्य मन्त्री जयराम यादवलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले सरकार पहिचानको आधारमा नाम प्रस्ताव गर्ने पक्षमा रहेको बताए । सरकारसँग दुई तिहाइ सभा सदस्य नभएको कारण नाम पास गर्न प्रतिपक्ष एमालेको साथ चाहिने बताए । नाम राख्न एमाले सकारात्मक भए समस्या नहुने मन्त्री यादवको भनाइ थियो ।

ज्ञापनत्र बुझाएपछि प्रदेश सभा कार्यालयको घेराउ गर्दै गेटमा कोणसभा भएको थियो । कोणसभामा सम्बोधन गर्दै किरात राई यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राईले किरात जातीय नभएर इतिहास, भूगोल, सभ्यता, भाषा र संस्कृतिको आधारमा भएको बताए । राईले किरात शब्द कैलाश, कैरात हुँदै किरात भएकोले यो नाम प्रति कसैले शंका नगर्न र अध्ययन गरेर बोल्न अनुरोध गरे ।

नेपालको इतिहासमा किरात काल प्रष्ट उल्लेख भएको महेन्द्र शाहले २०१७ सालमा १४ अञ्चल, ७५ जिल्ला बिभाजन गर्नु पूर्व वल्लो किराँत, माझ किरात र पल्लो किरात गरेर प्रशासनिक बिभाजन भएको सचिव राईको भनाइ थियो ।
नेपालमा जनताको शासन स्थापित गर्न रामप्रसाद राई, रत्न बान्तावा, कटक साम्पाङ लगायत चार सय जतिले बलिदान, नवीन राई, दिलबहादुर राई लगायतले हालसम्म बेपत्ता रहेको बताए । संमृद्धिको लागि शान्ति आवश्यक रहने उल्लेख गर्दै पहिचानका आधारमा नाम राखिए मात्र त्यो संभव हुने बताए ।

कोण सभाको समापन गर्दै आयोजक किरात राई यायोक्खा सुनसरीको अध्यक्ष राजेन्द्र राईले शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरिए अरु कडा कार्यक्रम ल्याइने चेतावनी दिए । किराया सुनसरी सचिव नवीन राईले सञ्चालन गरेको कार्यक्रम यायोक्खा केन्द्रीय सदस्य नागेश्वर राई, नेपाल आदिबासी जनजाति समन्वय समितिको अध्यक्ष राम मण्डुपा राई लगायत सहभागि भएका थिए । र्‍यालीमा  धरान, इटहरी, विराटनगर गरी करिव चार सय मोटरराइकल सहभागी रहेका थिए । किरात राई विद्यार्थी संघका नेता, कार्यकर्ताहरु सहभागि भएको र्‍यालीमा किरात प्रदेश–घोषणा गर, पहिचान विरोधी–होसियार लगायतको नारा लगाएका थिए ।

यस अघि किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राई, उपाध्यक्ष जीवन हाताचो राई, महासचिव जनक राई लगायतको टोली राजधानी काठमाडौबाट आएर मुख्यमन्त्री राजेन्द्रकुमार राई, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संसदीय दलका नेताहरु, मन्त्री र सांसदहरलाई भेटेर प्रदेशको नाम किरात राख्न छलफल तथा स्मरण पत्र बुझाएको थियो ।

यायोक्खाले किरात प्रदेश नामकरणको लागि २५ लाख हस्ताक्षर बुझाउनुको साथै मोटरसाइकल र्‍याली, वृहत आमसभा, कविता वाचन लगायतको शान्तिपूर्ण कार्यक्रमहरु निरन्तर रुपमा गर्दै आएको छ ।



तपाईको कमेन्ट लेख्नुहोस्