Techie IT
HK Tube Nepal

कानेपोखरीमा ‘प्रदेश १ स्तरीय अन्तरपालिका प्रथम अध्यक्ष फुटबल कप’ सुरु हुँदै


कानेपोखरी, चैत्र ११ । मोरङको कानेपोखरी गाउँपालिकामा ‘प्रदेश १ स्तरीय अन्तरपालिका प्रथम अध्यक्ष फुटबल कप’ -२०७८ सुरु हुने भएको छ ।
आज शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिइएको हो । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ चैत्र १३ गते आइतबारदेखि २० गतेसम्म नकआउट तवरले सञ्चालन हुने प्रतियोगिता कानेपोखरी ५ जहदास्थित जहदा रंगशालामा हुँदैछ ।

प्रतियोगितामा प्रथम र दोश्रो हुनेलाई क्रमशः १ लाख रुपैयाँ र ६० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने कानेपोखरी खेलकुद परिषदका अध्यक्ष चरण गुरुङले बताए । व्यक्तीगत विधातर्फ हाइस्कोरर, बेस्ट डिफेन्डर, बेस्ट स्ट्राइकर, बेस्ट गोलकिपर र बेस्ट कोचलाई जनही ३ हजार र खेल अवधिभरीको सर्वोउत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्रदान गरिने गुरुङले जानकारी दिए । उनले प्रत्येक खेलबाट म्यान अफ दि म्याचको घोषणा सहित १५ सय रुपैयाँ, ट्रफी, मेडल प्रदान गरिने सुनाए ।

प्रतियोगितामा सुनसरी, मोरङका गरि ७ टिमले सहभागीता जनाउने छन । टिमहरुमा कानेपोखरी गाउँपालिका, पथरी शनिश्चरे नगरपालिका, बेलवारी नगरपालिका, केरावारी गाउँपालिका, लेटाङ नगरपालिका, मिक्लाजुङ गाउँपालिका र इटहरी उपमहानगरपालिका रहेका छ्न । खेल भव्य रुपमा सम्पन्न गर्न विभिन्न शिर्षक अन्तर्गत रहेर ७ लाख ९० हजार ६० रुपैयाँ छुट्याइएको छ । विगत केही वर्षदेखी खेलकुद प्रतियोगिता सञ्चालन गर्ने योजना बनाउँदै गर्दा कोभिडको कारणले यस क्षेत्र ठप्प रह्यो, फलस्वरुप केही समय पश्चात् भएपनि हामीले कानेपोखरीमा एउटा सम्झनयोग्य प्रतियोगिताको सुरुवात गर्दैछौं, पालिका उपाध्यक्ष राजमती इङ्नामले बताइन ।

कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको प्रमुख अतिथ्यतामा प्रतियोगिताको उद्घघाटन गरिने भएको छ भने उद्घघाटन खेल बेलवारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको बिचमा हुनेछ । प्रतियोगितालाई कानेपोखरी खेलकुद परिषदले आयोजना गरेको हो भने मुख्य सहयोग कानेपोखरी गाउँपालिकाको रहेको छ । प्रत्येक दिनको खेल ठिक २ बजेबाट सुरु हुनेछ ।

अध्यक्ष कप सञ्चालन गर्नुको उद्देश्य के हो भन्ने प्रश्नमा गापा अध्यक्ष ताराबहादुर काफ्लेको भनाइ ।

– कानेपोखरी गाउँपालिका भित्र फुटबल खेललाई अझ परिष्कृत गर्दै लैजान ।
-फुटबल खेलप्रेमी दर्शक महानुभावहरुलाई मनोरञ्जन प्रदान गर्दै फुटबल खेलप्रति आकर्षित गर्न ।
-अन्तर जिल्लामा रहेका खेलाडीहरुलाई एउटै खेल मैदानमा मैत्रीपुर्ण खेल खेल्ने वा सिर्जना गर्न ।
– फुटबल खेलको माध्यमबाट यस कानेपोखरी गाउँपालिकालाई जिल्ला, प्रदेश हुँदै राष्ट्र मै चिनाउनका लागि प्रयत्न गर्न ।
-बाटो विराएर कुलतमा लागेका युवाहरुलाई खेलको माध्यमबाट सहि मार्गदर्शन गराई उनिहरुको भविष्य उज्ज्वल बनाउन प्रयत्न गर्न ।



तपाईको कमेन्ट लेख्नुहोस्