Techie IT
HK Tube Nepal

अन्तर पालिका प्रथम अध्यक्ष फुटबल कप : दोश्रो खेलमा लेटाङ नपाको जित


कानेपोखरी, चैत्र १४ । मोरङको कानेपोखरी गाउँपालिका ५ जहदा स्थित ‘जहदा रंगशाला’मा जारी अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष फुटबल कपको दोश्रो खेल लेटाङ नगरपालिकाले जितेको छ ।

सोमबार भएको खेलमा पथरीशनिश्चरे नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै लेटाङ नगरपालिका विजयी भएको हो । खेलको १६ औं मिनेटमा लेटाङ नगरपालिका जर्सी नं. १४ का सन्दिप मगरले १ गोलको अग्रता दिलाएका थिए । सेकेण्ड हाफ् पछि खेलको ४७ औं मिनेटमा लेटाङकै जर्सी नं. ९ का मोदी राईले थप १ गोल गर्दै टिमलाई बलियो बनाएका थिए । त्यसैगरी खेलको अन्तिम समयमा पथरीशनिश्चरेका जर्सी नं. ५ का रोषन माझीले १ गोल फर्काउर्दै खेललाई २–१ बनाएको थियो ।

खेलको म्यान अफ दि म्याच विजेता टिमका गोल रक्षक रक्की मगर घोषित भए । मगरलाई पूर्व राष्ट्रिय खेलाडी बल बहादुर गुरुङ र खेल आयोजक समितिका अध्यक्ष चरण गुरुङले १५ सय रुपैयाँ नगद सहित ट्रफी र मेडल हस्तान्तर गरेका थिए ।भोलीको खेल कानेपोखरी गाउँपालिका र केराबारी गाउँपालिका बिच हुने आयोजक समितिका अध्यक्ष चरण गुरुङले बताए ।

प्रतियोगिताको आयोजना कानेपोखरी खेलकुद परिषदले गरेको हो भने मुख्य सहयोगी कानेपोखरी गाउँपालिकाको रहेको छ । प्रतियोगितामा व्यवस्थापकिय सहयोग नव प्रगतिशील समाजसेवा क्लब, जहदा भेट्रानले गरेको हो ।

खेलको विजेता टिमले नगद १ लाख र उपविजेताले ६० हजार ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । प्रत्ये खेलमा म्यान अफ द म्याच नगद १५ सय, ट्रफी र मेडल पाउने छन् । त्यसैगरी खेलको अन्तिम दिन विद्यागत पुरस्कार खेल अवधिभर उत्कृष्ट खेलाडीलाई १ जनालाई नगद ५ हजार, हाइस्कोरर, बेस्ट डिफेन्डर, बेस्ट स्ट्राइकर, बेस्ट गोलकिपर र बेस्ट कोचलाई जनही ३ हजार सहित ट्रफी र मेडल प्रदान गरिने समितिका सचिव एविन पाठकले बताए ।



तपाईको कमेन्ट लेख्नुहोस्