Techie IT
HK Tube Nepal

पालिका स्तरीय प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी लेटाङलाई


कानेपोखरी, चैत्र २१ । मोरङ कानेपोखरी -५ को जहदा रंगशालामा आइतबार सम्पन्न भएको अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी लेटाङ नगरपालिकाले जितेको छ ।

बेलवारी नगरपालिकालाई २-० गोल अन्तरले हराउँदै लेटाङले सहज जित निकालेको हो । लेटाङका लागि अनुप मगर र सागर बिकले जनही १-१ गोल गरे । खेलको ४३ र ५८ औं मिनेटमा मगर र बिकले लेटाङका लागि गोल गरेका थिए । खेलको अन्य समयमा दुवै तर्फबाट निकै आकर्षक प्रयासहरु भएपनि गोल भने हुन सकेन ।

उपाधीसँगै लेटाङले १ लाख नगद रुपैयाँ, उपविजेताले ६० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । प्रथम पुरस्कार समापन समारोहका प्रमुख अतिथि एवं पालिका अध्यक्ष ताराबहादुर काफ्लेले र दोश्रो पुरस्कार लेटाङ नगरपालिका प्रमुख शंकर राइले हस्तान्तरण गरे ।

बिधागततर्फ बेस्ट डिफेन्स लेटाङका राजु मगर, मिडफिल्डर बेलवारीका भक्त भण्डारी , फरवार्ड लेटाङका सागर बिक , गोलकिपर बेलवारीका सन्तोष दनुवार, कोच लेटाङका इन्द्र राई र हाइस्कोरर लेटाङका खेलाडीद्वय आयुष लिम्बू र अनुप मगरलेले जनहि ३ हजार रुपैयाँ प्राप्त गरे भने खेलको सर्वोउत्कृष्ट खेलाडी बेलवारीका पारस खत्री घोषित हुँदै नगद ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।

औपचारिक समापन कार्यक्रममा कानेपोखरीबाट राष्ट्रिय र अन्तरास्ट्रिय स्तरमा खेलकुदबाट ख्याति कमाउन सफल बलबहादुर गुरुङ, डेनिम राई, सन्दिप सुनार, मणिकुमार राई, गंगा गुरुङ, जमुना गुरुङ र विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेलेर विश्व रेकर्ड राख्न सफल महिला खेलाडी दिपा अधिकारीलाई आयोजक कानेपोखरी खेलकुद परिषदले सम्मान गर्‍यो ।

औपचारिक कार्यक्रममा कानेपोखरी अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम, लेटाङ नगरप्रमुख प्रमुख शंकर राई, बेलवारी नगरप्रमुख ज्ञानेन्द्र सुवेदी, एमाले मोरङ जिल्ला कमिटी सदस्य भोला अधिकारी, कानेपोखरी नेपाली काङ्ग्रेसबाट योगेन्द्र दाहाल, माओवादी केन्द्र कानेपोखरीका प्रतिनिधि मनोज राजवंशीलगायतको उपस्थिति रहेको थियो ।
शुभकामना मन्तव्य राख्ने क्रममा पालिका अध्यक्ष ताराबहादुर काफ्लेले खेलकुदका माध्यमबाट स्वास्थ्य समाज निर्माण हुने भएकाले खेलप्रति अभिरुची जगाउने उद्देश्यले यो प्रतियोगिताको सञ्चालन गरेको बताए ।

प्रतियोगिताको आयोजना कानेपोखरी खेलकुद परिषदले गरेको हो भने मुख्य सहयोग कानेपोखरी गाउँपालिकाको रहेको थियो । प्रतियोगितामा व्यवस्थापकिय सहयोग नव प्रगतिशील समाजसेवा क्लब, जहदा भेट्रानले गरेको हो । कानेपोखरी खेलकुद परिषद अध्यक्ष चरण गुरुङको अध्यक्षतामा सम्पन्न समापन समारोहको सञ्चालन कानेपोखरी खेलकुद परिषदका सदस्य एविन पाठकले सञ्चालन गरेका थिए ।



तपाईको कमेन्ट लेख्नुहोस्