Techie IT
HK Tube Nepal

सडन डेथ मार्फत टेन नवोदयले उपाधी जित्यो


सुनवर्षी, बैशाख ०२ । मोरङको सुनवर्षी -०१ केचनामा जारी अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधी टेन नवोदय एफसीले जितेको छ ।
बुधबार भएको फाइनलमा डाँगिहाट फुटबल क्लबलाई सडन डेथमा ५-४ गोल अन्तरले हराउँदै टेन नवोदयले उपाधी जितेको हो । निकै प्रतिस्पर्धात्मक भिडन्तमा निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । निर्धारित समयको खेलमा दुवै टोलीले गोलको प्रयास गरे तापनि सफल भएनन् ।

गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४-४ को बराबरी भएपछि खेलको निर्णय सडन डेथ मार्फत लिइएको थियो ।
उपाधिसँगै विजेता टेन नवोदयले १ लाख ५१ हजार, उपविजेताले १ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्‍यो । फाइनल खेलको म्यान अफ दि म्याच नवोदयका गोलरक्षक विशाल मगर घोषित भए । उनले नगद २५ सय रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे।

त्यस्तै, विधागततर्फ प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी नवोदयका सौर्य राउत घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे भने उत्कृष्ट गोलरक्षक नवोदयका विशाल मगर बन्दा हाइस्कोररको उपाधी पनि नवोदयकै खेलाडीद्वय मीन धिमाल र सौर्य राउत प्राप्त गरे । उत्कृष्ट गोलरक्षक र हाइस्कोररले ७-७ हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गरे । उत्कृष्ट कोच टेन नवोदयका सन्जिव कुरुङ्वाङ भए । प्रतियोगिताको समापनमा सुनवर्षी नगरपालिकाका मेयर कालिप्रसाद दास, उपप्रमुख मन्जुकुमारी राई , स्थानीय समाजसेवी, राजनीतिक पार्टिका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा स्थानीय विद्यालयका बालबालिकाहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।



तपाईको कमेन्ट लेख्नुहोस्