Techie IT
HK Tube Nepal

कानेपोखरीमा लागुऔषध दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रम


कानेपोखरी, असार २५ । ‘लागुऔषध दुर्व्यसनलाई निर्मलीकरण गरौं’ भन्ने मुल नाराका साथ मोरङ कानेपोखरी ५ जहदामा लागुऔषध दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रम गरिएको छ ।

नव उदय समूह कानेपोखरी ५ जहदाले आयोजना र उद्धार सुधार गृह, केराबारीले सहजीकरण गरेको कार्यक्रममा लागुऔषध दुर्व्यसनीका बारेमा वृहत छलफल गरिएको थियो ।

कार्यक्रममा सहजीकरणको भुमिका उद्धार सुधार गृह, केराबारीका संस्थापक अध्यक्ष एवं उत्प्रेरक खगेन्द्र क्षेत्रीले गरेका थिए । उनले लागुऔषध प्रयोग गर्नुका कारण, बच्ने उपाय र यसका असरहरूको बारेमा जानकारी गराएका थिए । लागुऔषध दुर्व्यसन विरुद्धको अभियानमा सहयोग गरेको बताउँदै लागुऔषधले युवा पुस्तामा नराम्रो असर पर्ने हुँदा त्यस तर्फ सचेत बन्न सम्पूर्ण युवालाई आव्हान गर्दै सभ्य समाज निर्माणमा थोरै भएपनि सहयोग गर्न अनुरोध गरे । लागुऔषध प्रयोगमा जानिनजानी फस्ने, सुरुमा सामान्य लाग्दै गर्दा बिस्तारै यसले जटिल समस्या निम्त्याउने र छुटकारा पाउन कठिन हुने हुँदा सुरुमै सबैजना टाढै रहनुपर्ने सुझाव दिए । साथै, क्षेत्रीले लामो समयदेखि केराबारीमा सुधार गृह सञ्चालन गरेको र त्यस ठाउँबाट धेरै लागुऔषध प्रयोगकर्ताहरूलाई छुटकारा दिलाइ सकिएको र अन्य पनि बिस्तारै दुर्व्यसनी मुक्त तर्फ अघि बढिरहेको सुनाए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले लागुऔषध भित्र पर्ने गाजाँ, ड्रग्स, अफिम, मफिर्न, हेरोइन, कोडिन, मेथाडोन, व्यूप्रिनफिर्न, जस्ता पदार्थले प्रयोगकर्ता व्यक्ति लगायत उसँग सम्बन्धित थुप्रै व्यक्तिहरूलाई पर्ने असरहरू, लागुऔषध प्रयोग गर्दा हुने व्यक्तिगत, सामाजिक, मानसिक असरका बारेमा आफ्ना कुराहरू व्यक्त गरे ।

आजभोलि हाम्रो समाजमा लागुपदार्थहरुको सेवन र बिक्री वितरणको क्रम बढ्दै गएको देखिन्छ । अवैध रुपमा लागुऔषध पदार्थ, सुर्तीजन्य र मदिराजन्य पदार्थको बिक्री वितरण भइरहेको पाइन्छ । युवाहरू पनि लागुऔषधको कुलतमा फसेर जीवन नै बर्बाद पारेको घटना प्रशस्तै सुन्न र देख्न पाइन्छ । सोही कुरालाई मध्यनजर राख्दै ‘लागुऔषध दुर्व्यसनी’ विरुद्धको यस कार्यक्रम आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष सन्तोष राईले बताए ।

कार्यक्रममा स्थानीय प्रतिनिधि ५ नं. वडाका अध्यक्ष चरण गुरुङ, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरू विबेक लिम्बू, सन्तोष फुयल, चन्द्र गुरुङ, सन्तोष गुरुङ, उद्धार सुधार गृहका संचालक खगेन्द्र क्षेत्री, स्थानीय, लागुऔषध प्रयोगकर्ता लगायतको बाक्लो उपस्थिति रहेको थियो ।



तपाईको कमेन्ट लेख्नुहोस्