Techie IT
HK Tube Nepal

कानेपोखरीमा वन नियमावली २०७९ खारेजीको माग गर्दै विरोध प्रर्दशन


कानेपोखरी, साउन २८ । मोरङको कानेपोखरीमा वन तथा वातावरण मन्त्रालयबाट २०७९ असार १९ गते राजपत्रमा प्रकाशित भएको वन नियमावली २०७९ को खारेजी माग गर्दै शुक्रबार विरोध प्रर्दशन गरिएको छ ।

सामुदायिक वन कानेपोखरी गाउँ महासंघको आयोजनामा सव-डिभिजन वन कार्यालय, कानेपोखरीको कार्यालय अगाडि वन नियमावली जलाएर विरोध प्रर्दशन गरिएको थियो ।

वन क्षेत्रमा लामो समयदेखि समुदाय स्तरमा सहयोग पुर्‍याउँदै आएको सामुदायिक वन उपभोक्तालाई मारमा पर्नेगरि ल्याएको, महिलाको पहुँचमा वन नियमावली नभएको, सामुदायिक वन भित्रका विभिन्न जडिबुटीहरु उपभोक्ताले सरक्षण वा उपभोग गर्न नपाउने, ५० प्रतिशत काठ आपूर्ति समितिले बाहय बिक्री गर्ने र अन्य रहेको वन निगमलाई दिनुपर्ने अरु ठेकेदारले लिन नपाउने, वन क्षेत्रभित्रका खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा निकाल्न पाउने वा नपाउने अन्यौल भएको लगायतका विषयहरु उपभोक्ताहरूलाई समस्या हुने गरि कार्यान्वयनमा ल्याइएको प्रदेश महासंघ सचीव अग्नि पौडेलले बताए ।

सो कार्यक्रममा बोल्ने अन्य वक्ताहरु सामुदायिक वन मोरङ जिल्ला महासंघ अध्यक्ष रामकृष्ण राई, मोरङ जिल्ला वन महासंघ सल्लाहकार संयोजक गंगा अधिकारी, बेलवारी वन महासंघ नगर अध्यक्ष देवी पोख्रेल, उर्लाबारी नगर महासंघ सचिव एनकुमारी दाहाल लगायतले वन नियमावली २०७९ सामुदायिक उपभोक्ता विरुद्धको रहेको र यसलाई तत्काल खारेज गर्नुपर्ने माग राखेका थिए ।

प्रदर्शनमा ‘सामुदायिक वनमाथि लगाइएको नयाँ नियमावली खारेज गर’, ‘सङ्घीयता विपरीत वन नियमावली खारेज गर’, ‘महिला विरोधी वन नियमावली २०७९ खारेज गर’, ‘जैविक विविधता बचाऊ’, ‘प्राकृतिक वातावरण स्वच्छ राखौं’, ‘जनविरोधी वन नियमावली २०७९ खारेज गर’ जस्ता नारा लगाइएको थियो। उक्त नियमावली तत्काल खारेज गराउनका लागि सामुदायिक वन उपभोक्ता महासंघले जिल्ला, प्रदेश तथा केन्द्रीयस्तरमा विभिन्न आन्दोलनका कार्यक्रमहरू गर्दै आएको जनाएको छ ।



तपाईको कमेन्ट लेख्नुहोस्