Techie IT
HK Tube Nepal

कानेपोखरीको रमाइलोमा ‘कानेपोखरी महोत्सव’ सञ्चालन हुने


कानेपोखरी, भदौ ०८ । मोरङको कानेपोखरी ६ रमाइलो बस स्टेन्ड पुर्वको खुल्ला जग्गामा पहिलोपटक ‘कानेपोखरी महोत्सव-२०७९’ सञ्चालन हुने भएको छ ।

‘शैक्षिक, कृषि एवं पर्यटन प्रवर्द्धनका लागि’ भन्ने मुल नाराका साथ यही भदौ १२ देखि २७ गतेसम्म महोत्सव सञ्चालन गरिने बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको थियो ।

रमाइलो युवा परिवार, कानेपोखरी व्यापार संघ, जे.सि.आई रमाइलो र लायन्स क्लब अफ रमाइलोको संयुक्त आयोजनामा चल्ने महोत्सवमा दिउँसो सुकुना बहुमुखी, मनमाेहन पाेलिटेेक्निक, मदन भण्डारी स्मृति प्रतिष्ठान, पथरीको पन्चायत मावि लगायतको विज्ञान संकाय पठनपाठन हुने विद्यालयका विद्यार्थीको विज्ञान प्रर्दशनी, कृषि उपकरण प्रर्दशनी, स्थानीय स्तरमा उत्पादन कृषि सामग्री प्रचार, विभिन्न प्रकारका स्टलहरु र साँझमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने व्यवस्थापन कमिटीको संयोजक नवीन पौडेलले बताए ।

कानेपोखरीलाई पर्यटकीय, शैक्षिक र कृषिको हवको रुपमा चिनाउने लक्ष्यका साथ महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिए । उनले भने, ‘महोत्सव आयोजना गर्नुको कारण कानेपोखरी क्षेत्रमा रहेर सामाजिक काम गर्ने सार्वजनिक संस्थाहरु रमाइलो युवा परिवार, कानेपोखरी व्यापार संघ, जे.सि.आई रमाइलो, लायन्स क्लब अफ रमाइलो, प्याब्सन, एनप्याब्सन, बाल क्लबहरु, सञ्चारकर्मीहरुको लागि भवन र स्टुडियोको संयुक्त भवन बनाउँनु हो’। साथै, उनले जग्गा प्राप्त गरिसकेको र डिपिआर निर्माणका लागि रकम आवश्यक पर्ने हुनाले यस महोत्सवबाट आर्थिक पाटोको समस्या सामधान हुने आशा रहेको सुनाए । उनले थपे, ‘सम्भव भएसम्म बाल उद्यान, मनोरञ्जनात्मक पार्क, कबर्डहल, स्विमिङ पुल निर्माण गर्ने योजना रहेको छ । कानुनी तवरले मान्यता दिएको सबै खेलहरु महोत्सव खेलाइने र महोत्सवको भौतिक संरचना निर्माणको जिम्मेवारी ठेकेदार पर्वत लामालाई दिइएको पौडेलले भने ।

महोत्सव साँझ ६ बजेबाट करिब ९:३० सम्म रहनेछ । महोत्सवमा मनोरञ्जन दिनका ज्योति मगर, प्रीति आले, प्रकाश सपूत, मेलिना राई, रचना रिमाल, सुगम पोख्रेल, प्रमोद खरेल, राष्ट्रिय स्तरका र्‍यापरहरु, टिकटक स्टार प्रीज्मा, प्रीन्सी लगायतका कलाकारहरु उपस्थिति रहने जे.सि.आई रमाइलोका अध्यक्ष त्रिभुनाथ फुयलले बताए । कलाकार आएको दिन एक सयदेखि दुईसयसम्म रुपैयाँ टिकट रहने र अन्य दिन भने प्रवेश नि:शुल्क रहेको छ,’उनले भने ।

सो पत्रकार सम्मेलन कार्यक्रममा रमाइलो युवा परिवारका अध्यक्ष नविन पौडेल, कानेपोखरी व्यापार संघका अध्यक्ष डिल्ली फुयल, जेसिज रमाइलोका अध्यक्ष त्रिभुनाथ फुयल(सन्तोष), लायन्स क्लब अफ कानेपोखरीका अध्यक्ष चरण गुरुङ, आयोजकको तर्फबाट आर्थिक सल्लाहकार संयोजक राजेश कार्की लगायत, विभिन्न संघसंस्थालाई प्रतिनिधित्व गरेका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।



तपाईको कमेन्ट लेख्नुहोस्