Techie IT
HK Tube Nepal

जितियाको अवसरमा कानेपोखरीमा सांस्कृतिक कार्यक्रम


कानेपोखरी, असोज ०३ । मोरङको कानेपोखरी गाउँपालिका २ थारु चोकमा आइतबार जितिया विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

‘लैङ्गगिक हिंसा विरुद्ध सचेतना’ भन्ने मुल नाराका साथ जितियाको अवसरमा थारु जागरण सेवा क्लब, कानेपोखरी २ थारु चोकले आयोजना गरेको कार्यक्रममा थारु, राजवंशी, अल्पसंख्यक समुदायका महिला तथा पुरुषहरुको बाक्लो उपस्थिति रहेको थियो ।
थारु समुदायका महिलाहरुले श्रद्धापूर्वक मनाउँने मुख्य चाड जितियामा ‘जितमहान भगवान’को मुर्ति तथा पोखरी बनाई पुजाआर्चना साथै ‘जितमहान भगवान’को कथा वाचन गर्दै नव विवाहित तथा वर्तालुहरुले पर्वलाई विधीपुर्वक मनाएका थिए । त्यसपश्चात् औपचारिक र अनौपचारिक कार्यक्रम सञ्चालन गरिएको थियो ।

सुर्य नारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालिका अध्यक्ष राजमती इङ्नामको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा पालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारी, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन पालिका अध्यक्ष इङ्नामले गरेकी थिइन ।

कार्यक्रममा शुभकामना दिने क्रममा अध्यक्ष इङ्नामले तराईबासीहरुको सँस्कार प्रति चासो दिँदै जितिया पर्व एकता र संस्कृतिका लागि महत्वपूर्ण रहेको बताइन। उनले भनिन, ‘आफ्नो भेषभुषा, भाषा, संस्कृति र रहनसहनलाई सबैजनाले संरक्षण गर्दै जानुपर्छ’ ।

कार्यक्रममा आफ्नो जाति झल्काउने नृत्य, गायन, हाँस्य प्रस्तुतिहरु लगायत प्रस्तुत गरिएको थियो ।



तपाईको कमेन्ट लेख्नुहोस्