Techie IT
HK Tube Nepal

हङकङमा अधिकांश नेपालीमा कोरोना संक्रमण, पिसिआर र अस्पतालमा विरामीको चाप


कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनले हङकङमा आतंक श्रृजना गरेको छ । पाचौं वेभकोरुपमा फैलिएको भाईरस आयतित हुदै समुदायमा भुसको आगोसरि फैलिएको हो ।
अन्य समयभन्दा यो पटकको भाईरस संक्रमणको वेभमा हङकङेली नेपालीहरु अधिकांशमा कोरोना देखिएको छ भने धेरैजना संक्रमणको शंकामा छन् ।

अत्याधिक चिसो बढेकाले पनि शरिरमा समस्या भएको बताईन्छ तर घरमै र्यापिड टेस्ट गर्दा अधिकांशलाई संक्रमण देखिएको हो ।

काम गर्ने स्थलहरुमा समेत कोरोना संक्रमण देखिएपछि सुरक्षा क्षेत्र, निर्माण क्षेत्र, होटल रेष्टुरेन्ट र अफिसमा काम गर्ने कर्मचारीहरुलाई प्रत्येक हप्ता अनिवार्यरुपमा पिसिआर जाँच गर्न भनिएको छ । पिसिआरमा कोरोना नेगेटिभ देखिएको रिपार्ट देखाएपछि मात्र काममा प्रवेश पाईने नियम बनाईएको छ । कतिपय कम्पनीहरु केहि समयका लागि बन्द समेत भएका छन् ।

अनिवार्य पिसिआर रिपोर्ट लागु भएसँगै स्थानिय पिसिआर प्वाईन्टहरुमा अत्याधिक भिड बढेको छ । फ्रि र २४० हङकङ डलर तिरेर दुवैप्रकारका पिसिआर गर्नका लागि कम्तिमा पनि २ देखि ३ घण्टा लाईनमा पालो पर्खनु पर्ने भएको छ ।

२४ घण्टाभित्रमा रिपोर्ट आउँनु पर्नेमा जाँच गर्नेको संख्या अत्याधिक भएकाले पैसा तिरेमा अलिक छिटो नत्र कम्तिमा ३ दिन पर्खनु पर्ने भएको छ ।
पिसिआर रिपोर्टविना काममा प्रवेश नपाईने हुनाले र रिपोर्ट पनि समयमा नआएकाले गाहे भएको नेपालीहरु बताउँछन् ।

७ बर्षअघि हङकङ आएका धरानका राजभक्त राई भन्छन् ३ घण्टा भयो पिसिआरको लाईनमा बसेको पालो आएको छैन । कम्पनीले हरेक ४ दिनमा नयाँ पिसिआर रिपार्ट देखाउँनु भन्छ, के गर्ने होला ? परिवारका सवै सदस्यमा घरमै रयापिट टेस्ट गर्दा पोजिटिभ देखिएको छ ।

काम गर्ने पर्ने, वाहिर हिड्नै पर्ने बाध्यता र विवशताको जडमा कोरोना त्रासले हङकङेली नेपालीहरुको जनजीवन अस्तब्यस्त बनेको हो ।

बर्षकै अत्यधिक जाडो ।

हङकङमा आईतबार बर्षकै अत्यधिक जाडो रेकर्ड गरिएको छ । दिनभर पानीसँगै चिसो सिरेटोले गर्दा ७ डिग्रीभन्दा कमको तापमान रेकर्ड गरिएको थियो । यो चिसो अझै केहिदिन रहने मौसम विभागले जनाएको छ ।

अत्यधिक चिसो र कोरोना संत्रासले गर्दा समुदायमा त्रास फैलिएको भन्दै धेरैजना नेपालीहरुले कोरोना लागेपनि आत्मबल बलियो बनाउँदै कोरोना विरुद्ध लड्नका लागि सामाजिक सञ्जालहरुमा प्रेरित गरिरहेका छन् ।

कोरोना संक्रमणका विरामी बढेसँगै हस्पिटलका शैयाहरु भरिएका छन् । विरामीहरुलाई बाटोमा नै राखेर भएपनि उपचार गरिरहको छ अस्पतालले । कोरोना संक्रमणको रिपोर्ट देखिएपनि शैयाको अभावमा घरमै आईसोलेशनमा बस्नका लागि अस्पताले समेत सुझाव दिईरहेको छ ।

महामारी नियन्त्रणका लागि सामाजिक दूरिको नियमसँगै अन्य विगतका प्रतिबन्धित नियमहरुलाई समेत हङकङ सरकारले निरन्तरता दिईरहेको छ ।
हङकङ कार्यकारी प्रमुख क्यारी लामले सम्पुर्ण जनताहरुलाई हतोत्साही नभई कोेरोना विरुद्धको लडाईमा एकजुट भएर लागि पर्नका लागि आग्रह गरिरहेकी छिन् ।

निर्माण क्षेत्रमा काम गर्ने पूर्व विराटनगरका पवन गुरुङलाई पनि कोरोना पोजिटिभ देखियो । सँगै काम गर्ने साथीहरुमा संक्रमण पुष्टि भएसँगै उनको रिपोर्टमा पनि पोजिटिभ देखिएको हो । अस्पतालमा बेड भर्ना हुन नसकेपछि घरमै श्रीमती र छोरीसँग बसिरहेका छन् । एक्लै आईसोलेट हुन पनि सम्भव छैन, शारिरीकरुपमा गाह्रो नभएपनि मनमा त्रास पैदा भईरहेको उनी बताउँछन् ।

हङकङमा फेब्रुअरी १६ मा ४ हजार २ सय ८५, फेब्रुअरी १७ मा ६ हजार १ सय १६ र फेब्रुअरी १८ मा ३ हजार ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ । एकैदिनमा यतिका संख्यामा पहिलोपटक हङकङमा संक्रमण देखिएको हो ।
यो सँगै हङकङमा कोरोना संक्रमणको संख्या ४६ हजार ७ सय ६३ पुगेको छ भने २ सय ७६ जनाले ज्यान गुमाईसकेका छन् ।

तस्बिर : साउथ चाईना मर्निङ



तपाईको कमेन्ट लेख्नुहोस्