Techie IT
HK Tube Nepal

दहिधाप मेला १ दिन मात्र लाग्ने


सनम रोक्का
कानेपोखरी, मंसिर ३ । मोरङ कानेपोखरी गाउँपालिका – ०६ शिवालय टोल स्थित त्रिपुरेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने दहिधाप मेला यसपटक एकदिन ६ गते मात्र लाग्ने भएको छ ।

विगतका वर्षहरुमा करिब ५ दिनसम्म भव्यताका साथ सञ्चालन हुने मेलालाई यसपटक लामो समय मेला सञ्चालन गर्दा हुने व्यवस्थापकिय समस्या, सुरक्षाको चुनौती, चुनावी गणना लगायतलाई मध्यनजर गर्दै मंसिर ६ गते बालाचतुर्दशीको दिन मात्र विगतलाई निरन्तरता दिदैँ पितृहरुको सम्झनामा शतवीज छरेर धार्मिकतालाई जोगाउने हिसाबले सामान्य रूपमा १ दिने मेला सञ्चालन गरिने त्रिपुरेश्वर महादेव मन्दिर समितिका अध्यक्ष डन्डोरसिंह खडका (युवराज)ले बताए ।

उनले भने, ‘विगतमा लाग्ने ५ दिने मेलामा उल्लेख्य संख्यामा मेला भर्ने मानिस वा धर्मावलम्बीहरूको उपस्थिति रहन्थ्यो । त्यस अवस्थामा सञ्चालक समितिलाई मेला सौहार्दपूर्ण वातावरणमा सञ्चालन गर्न सुरक्षाको तवरबाट निकै कठिन हुने गरेको थियो । ती सबै कुराहरूलाई ख्याल गर्दै हामी सम्पूर्ण मन्दिर समितिले यसखाले निर्णय गरेका हौं’ ।

बाला चतुर्दशीको दिन धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाइएको सप्तधाना युक्त सतविज आफ्ना आफन्तहरूको दिवङ्गत आत्मा कहिल्यै भोको नहुन भनि छर्ने मान्यताका साथ बाला चतुर्दशीलाई यसपटक मनाउन भक्तजनहरू उपस्थित हुनुहुनेछ भन्नेमा विश्वत रहेको छु, ‘त्रिपुरेश्वर मन्दिर समितिका सचिव हेमन्त घिमिरेले भने । गतवर्ष पनि बालाचतुर्दशी मात्र मनाइएको थियो ।

हिन्दु धर्मावलम्बीहरूले परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा बाला बालाचतुर्दशीको अघिल्लो राती महादिप बाली जाग्राम बसी बिहान शतवीज छर्ने चलन छ । महादीप बाल्नाले मृत्युवरण गरेकाको असन्तुष्ट आत्मा भए प्रकाशित भई सद्गति हुने मान्यता छ ।



तपाईको कमेन्ट लेख्नुहोस्