Techie IT
HK Tube Nepal

हङकङ ब्लड डोनेशन (रक्तदान)का सारथी ‘मनोज’

आफ्नी बहिनीलाई ब्लड क्यान्सरले गुमाउँदाको पिडालाई नजिकबाट महशुस गरेका छन् मनोजले । बहिनीको आत्माले शान्ति पाओस भन्दै मानविय सुकर्मका लागि निस्वार्थरुपमा, हङकङमा ब्लड डोनेशनका लागि नेपालीहरुलाई आग्रह गरिरहेको बताउँछन् उनी


नेपालीहरु भन्ने वित्तिकै गोर्खाली, निडर र साहसीको छवि, हङकङको स्थानिय परिवेशमा पुरानो भईसकेको छ ।
ब्यापार, ब्यवसाय, शैक्षिक, खेलकुद लगायतमा पनि नेपालीहरुले बलियो उपस्थिती जनाईरहेका छन् ।

पछिल्लो समय हङकङ रेडक्रस सोसाईटीसँग साझेदारी गर्दै मनोज गौतमले नेपालीहरुलाई ब्लड डोनेशन (रक्तदान)का लागि आग्रह गरिरहेका छन् ।

दुर्घटनामा जतिबेला पनि पर्न सकिन्छ, रगतको आवश्यक परेको खण्डमा विदेशी भूमिमा कसलाई गुर्हाने ? आफु स्वस्थ्य हुदा खेर जाने रगतको केहि हिस्सा दान गरे आफु र आफ्नो परिवारलाई चाहिएको बखतमा सहज हुन्छ । मनोज भन्छन् विदेशीहरु आफै रेडक्रसमा आएर ब्लड डोनेशन गरेर जान्छन् तर नेपाली समुदायमा ब्लड डोनेशन गर्दा कमजोरी भईन्छ, यौन क्षमतामा कमि आउँछ लगायतका गलत धारणाहरुले गर्दा पनि जनचेतना जगाउँनु, ब्लड डोनेशनका बारेमा चर्चा गर्नु आवश्यक छ ।
मनोजले आफ्नो अगुवाईमा नेपाल विश्व अभियान नामक ग्रुप गठन गरि रेडक्रसमा ब्लड डोनेशनका लागि आग्रह गरे । सन् २०१८ बाट शुरु भएको यो अभियान २०२२ सम्म आईपुग्दा करिब १५० भन्दा बढि नेपालीहरुले निरन्तर ब्लड डोनेशन गरिरहेका छन् ।

आफ्नी बहिनीलाई ब्लड क्यान्सरले गुमाउँदाको पिडालाई नजिकबाट महशुस गरेका छन् मनोजले । बहिनीको आत्माले शान्ति पाओस भन्दै मानविय सुकर्मका लागि निस्वार्थरुपमा, हङकङमा ब्लड डोनेशनका लागि नेपालीहरुलाई आग्रह गरिरहेको बताउँछन् उनी । निर्माण क्षेत्रमा सेफ्टी म्यानेजरकारुपमा कार्यरत मनोज हङकङ सरकारको निर्माण उद्योग प्रशिक्षण वोर्ड (सिआईसी) अन्र्तगत अल्पसंङख्यक जातजाती उपसमितीको वोर्ड सदस्य समेत हुन् ।

उसो त नेपालमा रहदा लाईन्स क्लव, राष्ट्रिय खेलकुद परिषद जस्ता संस्थाहरुमा आवद्ध मनोज रक्तदान, आँखा शिविर जस्ता कार्यक्रमहरुका आयोजनामा अग्रपक्तिमा बसेर काम गर्थे ।

एकदशक अघि हङकङ आएका उनी शुरुवाती दिनमा सामान्य मजदुरकारुपमा निर्माण कम्पनीमा प्रवेश गरेका थिए । आफुसँगै काम गर्ने एकजना दिदीको रगतमै खरावी भएको र नेपाल फर्केर उपचार गर्दा पनि जीवन रक्षा गर्न नसक्दाको क्षण सम्झन्दा भावुक बन्छन् ।

मनोज भन्छन् जुन कुरा पैसाले किन्न सकिदैन, तर बाँच्नका लागि अनिवार्य छ, रगत । हामीले समयमा नै आफ्नो र परिवारको सहयोग र स्वास्थ्यको लागि पनि रगतलाई अनावश्यक खेर जान दिनु हुदैन ।
हङकङको स्थानिय सरकारसँग सहकार्य गर्दै विभिन्न कार्यक्रमहरुमा सरिक हुदा, नेपाली जातीप्रति उनीहरुको सद्भावलाई अझ वढावा दिनपनि यस्ता सामाजिक कार्यमा सहभागी हुन उनी सवैलाई सुझाउँछन् ।

के हो ब्लड डानेशन ?
आफ्नो शरिरमा भएको रगत अन्य ब्यक्तिको जीवन रक्षाको लागि निशुल्करुपमा दान गर्नु नै रक्तदान (ब्लड डोनेशन) हो । ब्लड डोनेशन गर्दा अन्य ब्यक्तिको जीवन रक्षा त हुन्छ नै सँगै रगत दिने ब्यक्ति पनि स्वास्थ्य हुन्छ ।

एउटा स्वास्थ्य ब्यक्तिको शरिरमा सामान्यतया ६ लिटर (करिब दश युनिट) रगत उत्पादन हुने गर्छ । ब्लड डोनेशन गर्दा हाम्रो शरिरबाट ४७० मिलिमिटर अर्थात १ युनिट ब्लड मात्र निकालिन्छ । यो शरिरमा भएको सम्पुर्ण रगतको १० देखी १४ प्रतिशत मात्र हो, यसले स्वास्थ्यमा कुनै हानी गर्दैन ।

मानिससको शरिरमा निर्माण भएको रगत १ सय २० दिनभित्र स्वत नष्ट हुने गर्दछ । उक्त रगत दान गर्दा मानिसको शरिरमा रगत उत्पादन प्रक्रिया छिटोछिटो हुने गर्दछ, जुन स्वास्थ्यका लागि लाभदायक हो ।
तर ब्लड डोनेशन गर्ने मान्छे निरोगी हुनका साथै दान गर्नुअघि र दान गरिसकेपछि आफ्नो स्वास्थ्यको विशेष हेरचाह गर्न अतिआवश्यक छ ।

 

 

 

 



तपाईको कमेन्ट लेख्नुहोस्